2026.07.07
प्रश्न:
मेरो बच्चा अहिले माध्यमिक विद्यालय (जुनियर हाई स्कूल) को तेस्रो वर्षमा छ र उच्च माध्यमिक विद्यालय (हाई स्कूल) मा जान चाहन्छ। विद्यालयबाट "भविष्यको शैक्षिक मार्ग सम्बन्धी सर्वेक्षण फाराम" भरेर बुझाउन भनिएको छ, तर त्यसमा के लेख्ने भन्ने थाहा छैन। साथै, अबदेखि कुन विद्यालयमा परीक्षा दिने भनेर कसरी निर्णय गर्ने भन्ने पनि थाहा छैन।
उत्तर:
माध्यमिक विद्यालयको तेस्रो वर्षमा पुगेपछि, सामान्यतया करिब तीन पटक "भविष्यको शैक्षिक मार्ग सम्बन्धी सर्वेक्षण" गरिन्छ। विद्यार्थीले आफू जान चाहेको हाई स्कूलको नाम फाराममा लेखेर बुझाउनुपर्छ। तर धेरै अभिभावक तथा विद्यार्थीहरूलाई कुन-कुन प्रकारका हाई स्कूलहरू छन् भन्ने जानकारी नहुँदा समस्या हुने गर्छ।
यदि कुनै कुरा बुझ्न गाह्रो भएमा विद्यालयका शिक्षकसँग सोध्नुहोस्। साथै, हाम्रो केन्द्रमा पनि परामर्श लिन सकिन्छ।
कक्षा शिक्षक, विद्यार्थी र अभिभावक सहभागी हुने "त्रिपक्षीय भेटघाट" पनि २ देखि ३ पटकसम्म गरिन्छ। शिक्षक र विद्यार्थीबीच मात्र हुने व्यक्तिगत परामर्श पनि गरिन्छ। सामान्यतया डिसेम्बरतिर हुने भेटघाटमा अन्तिम रूपमा कुन विद्यालयको प्रवेश परीक्षा दिने भन्ने निर्णय गरिन्छ।
यदि निजी हाई स्कूल मा सिफारिस मार्फत प्रवेश परीक्षा दिने हो भने, उत्तीर्ण हुने सम्भावना धेरै उच्च हुन्छ। सिफारिस प्राप्त गरेर निजी हाई स्कूलमा भर्ना हुनु पनि राम्रो विकल्प हो। यस्तो परीक्षा जनवरी महिनामा हुन्छ।
सन् २०२६ (रेइवा ८) शैक्षिक वर्षदेखि निजी हाई स्कूलको शुल्क र भर्ना शुल्कको लगभग सम्पूर्ण रकम अनुदानबाट सहयोग गरिनेछ। तर, बच्चाको जापानमा रहेको निवास (भिसा) स्थिति अनुसार केही अवस्थामा यो सुविधा लागू नहुन सक्छ, त्यसैले पहिले नै पुष्टि गर्नु आवश्यक छ।
सार्वजनिक हाई स्कूलको प्रवेश परीक्षा फेब्रुअरी महिनामा हुन्छ। सार्वजनिक विद्यालयको परीक्षा दिनुअघि निजी विद्यालयको परीक्षा पनि दिएर एउटा विद्यालयमा नाम निकालिसकेको हुनु मानसिक रूपमा ढुक्क हुने उपाय हो।
यस अवस्थामा, निजी विद्यालयमा भर्ना सुरक्षित गर्न भर्ना शुल्कको केही अंश (करिब २०,००० येन) अग्रिम रूपमा तिर्नुपर्छ। पछि सार्वजनिक हाई स्कूलमा नाम निस्केर त्यहाँ भर्ना भएमा, निजी विद्यालयलाई तिरेको उक्त रकम फिर्ता हुँदैन।
यो तपाईंको बच्चाको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषय भएकाले, समयमै पर्याप्त जानकारी सङ्कलन गरेर निर्णय गर्न सुझाव दिइन्छ।




